काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका देखिएका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्न आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे तय गरिएको छलफलमा निर्माण व्यवसायीहरूले भोगिरहेका व्यावहारिक कठिनाइ, निर्माण आयोजनामा देखिएका अवरोध तथा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधारका विषयमा विस्तृत कुराकानी हुने जनाइएको छ।
बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेलगायतको सहभागिता रहनेछ।
प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग संवादलाई निरन्तरता दिँदै निर्माण क्षेत्रका समस्या समाधानका लागि पनि सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न लागेका हुन्।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया