काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कार्यकालको पहिलो सय दिनमा जनअपेक्षाअनुसार कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाएका छन्। उनले सरकारका गतिविधिले जनतालाई राहतभन्दा निराशा दिएको दाबी गरेका छन्।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको सय दिने कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
उनले वर्तमान अवस्थाको व्यंग्य गर्दै अहिले जनताका लागि खुसी हुने एउटै माध्यम राति अबेरसम्म विश्वकप फुटबल हेर्नु मात्रै बाँकी रहेको टिप्पणी गरे। सरकारलाई ‘उम्लिरहेको दूध’सँग तुलना गर्दै उनले सरकार वास्तविकताभन्दा टाढा रहेको र जिम्मेवारीबोधसमेत नदेखिएको आरोप लगाए।
अध्यक्ष ओलीले प्रधानमन्त्री वा मन्त्रीको आलोचना गर्दा समेत कारबाहीको त्रास सिर्जना भएको दाबी गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढेको आरोप पनि लगाए। उनले सरकार आलोचनाप्रति असहिष्णु बन्दै गएको संकेत गरे।
सरकारको सय दिनको वास्तविक मूल्यांकन गर्ने अधिकार जनता र सञ्चारमाध्यमसँग रहेको उल्लेख गर्दै ओलीले एमाले कमजोर भएको भन्ने टिप्पणीको समेत खण्डन गरे।
‘एमाले समाप्त हुन जन्मिएको पार्टी होइन, देश निर्माण र सफल नेतृत्वका लागि स्थापित भएको पार्टी हो,’ उनले भने।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित छ जना केन्द्रीय नेताले एमाले प्रवेश गरेका थिए। अध्यक्ष ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया