काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका पूर्वसभासद् डोलबहादुर (डिबी) कार्की नेकपा (एमाले)मा प्रवेश गरेका छन्। बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

कार्कीसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अन्य पाँच नेताले पनि एमाले प्रवेश गरेका छन्। एमालेमा आबद्ध हुनुअघि कार्की नेकपाको पोलिटब्युरो सदस्यका रूपमा सक्रिय थिए।

डिबी कार्की पहिलो संविधानसभाका सदस्य रहेका बेला नेपाल प्रहरीमा इन्स्पेक्टर नियुक्त गराइदिने प्रलोभन देखाएर घुस लिएको आरोपमा पक्राउ परेका थिए। अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अनुसन्धानका क्रममा कार्कीले दुई चरणमा रकम मागेको आरोप लागेको थियो। सुरुमा तीन लाख रुपैयाँ लिएको र त्यसपछि थप एक लाख रुपैयाँ बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो। घटनास्थलबाट एक लाख रुपैयाँ बरामद हुनुका साथै प्रहरी भर्तीसम्बन्धी सिफारिस उल्लेख गरिएको हस्तलिखित चिठी पनि फेला परेको थियो। कल डिटेल र हस्ताक्षर परीक्षणसमेत अनुसन्धानका आधार बनेका थिए।

विशेष अदालतले कार्कीलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै चार महिना कैद, एक लाख रुपैयाँ जरिवाना तथा संविधानसभा सदस्य भएकाले थप दुई महिना कैद सजाय सुनाएको थियो। उक्त फैसला सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

सर्वोच्च अदालतले प्रारम्भिक रूपमा दाबी गरिएको तीन लाख रुपैयाँ सम्बन्धी पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै बरामद भएको एक लाख रुपैयाँलाई मात्रै घुसको बिगो मानेर फैसला कायम राखेको थियो। त्यससँगै कार्कीविरुद्धको भ्रष्टाचार मुद्दा कानुनी रूपमा अन्तिम टुंगोमा पुगेको थियो।

सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेपछि उनी कुनै पनि निर्वाचित जनप्रतिनिधिमूलक पदका लागि उम्मेदवार बन्न अयोग्य भए पनि राजनीतिक गतिविधिमा भने निरन्तर सक्रिय रहँदै आएका थिए। अब उनी औपचारिक रूपमा एमालेमा आबद्ध भएका छन्।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com