काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रतिनिधिसभामा कडा प्रश्न उठाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले गणेश नेपालीको उपचारभन्दा पनि गृहमन्त्री प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाए। उनले बिहीबार गृहमन्त्री सञ्चारमाध्यमको घेरामा विभिन्न स्थानमा पुगेको उल्लेख गर्दै त्यसलाई ‘स्टन्ट’को संज्ञा दिए।
शाहीले गृहमन्त्रीलाई लक्षित गर्दै, ‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?’ भन्दै आलोचना गरे। उनले फिल्मका नायकझैँ क्यामेरा अगाडि दौडिनुभन्दा नागरिकको जीवन बचाउन प्रभावकारी निर्णय आवश्यक रहेको बताए।
उनले उपचारलाई प्राथमिकता दिएको भए गणेश नेपालीको ज्यान जोगिन सक्ने दाबी गर्दै, आवश्यक परे बिहीबार नै उनलाई भारतको नयाँ दिल्लीस्थित विशेषज्ञ अस्पतालमा पठाइएको भए अवस्था फरक हुन सक्ने धारणा व्यक्त गरे।
शाहीले सरकारका मन्त्रीहरूले प्रचारमुखी गतिविधिभन्दा जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिँदै, ‘देशलाई कन्टेन्ट क्रियटर होइन, जिम्मेवार गृहमन्त्री चाहिएको छ,’ भन्ने टिप्पणी गरे।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार












प्रतिक्रिया