काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको मृत्युको घटनालाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गर्दै यसलाई राज्य, समाज र समग्र नागरिक चेतनालाई गम्भीर रूपमा झस्काउने दुःखद घटनाका रूपमा लिनुपर्ने बताएका छन्।

शुक्रबार जारी वक्तव्यमा थापाले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्।

थापाले अहिलेको अवस्थामा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पीडित परिवारप्रति ऐक्यबद्धता र मानवीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिकलाई आ–आफ्नो ठाउँबाट परिवारलाई सहयोग गर्न आग्रह गरेका छन्।

उनले गणेश नेपालीको घटनालाई कुनै दल वा व्यक्तिविरुद्धको आरोप लगाउने माध्यम बनाउन नहुने स्पष्ट पार्दै यो एउटा नागरिकको जीवन, एउटा परिवारको पीडा र सम्पूर्ण समाजको संवेदनासँग जोडिएको विषय भएको बताएका छन्। उनका अनुसार आरोप–प्रत्यारोपले समाधान नदिने, बरु सामाजिक विभाजन बढाउने जोखिम हुन्छ।

सभापति थापाले एउटा युवा किन यति निराश हुन बाध्य भयो, आफ्ना गुनासा सुनाउन किन चरम कदम रोज्नुपर्‍यो र राज्यका संयन्त्रले नागरिकलाई आवश्यक भरोसा किन दिन सकेनन् भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले समाज, परिवार, राज्य र नागरिक सबैले आफ्ना जिम्मेवारीबारे पुनर्विचार गर्नुपर्ने बेला आएको उल्लेख गर्दै भविष्यमा कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन यस्ता दुःखद कदम चाल्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।

गणेश नेपालीको घटनापछि राज्यको सेवा प्रवाह, नागरिक गुनासो सुनुवाइ, मानसिक स्वास्थ्य, प्रशासनिक व्यवहार तथा सार्वजनिक निकायको जवाफदेहिताबारे देशभर बहस भइरहेको उल्लेख गर्दै थापाले समाधानमुखी सोच, सहानुभूति र संवेदनशील शासन प्रणाली निर्माणमा सबै पक्ष केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com