काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यो घटनालाई एउटा व्यक्तिको मृत्युमा मात्र सीमित नभई मुलुकको गहिरिँदो आर्थिक–राजनीतिक संकटको प्रतिबिम्बका रूपमा हेर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले गणेश नेपालीको मृत्युले लाखौँ नेपाली युवाले भोगिरहेको बेरोजगारी, निराशा र राज्यप्रतिको घट्दो विश्वासलाई उजागर गरेको उल्लेख गरेका छन्।

उनले देशमा बढ्दो बेरोजगारी र युवामा फैलिएको निराशा संरचनागत समस्या भएको भन्दै त्यसको दीर्घकालीन समाधान खोज्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। समस्याको मूल कारण समाधान गर्नुको सट्टा अस्थायी रूपमा टालटुल गर्ने प्रवृत्तिले अवस्था झन् जटिल बन्दै गएको उनको टिप्पणी छ।

भट्टराईले गणेश नेपालीको घटनालाई केवल व्यक्तिगत दुर्घटना वा एकल निर्णयका रूपमा नहेरी राज्यको नीति, आर्थिक अवस्था, रोजगारीको अवसर र युवाको भविष्यसँग गाँसिएको गम्भीर सन्देशका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन्।

उनले यस्ता दुःखद घटना भविष्यमा दोहोरिन नदिन राज्यले युवाका लागि रोजगारी सिर्जना, सुशासनको सुदृढीकरण र नागरिकमा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्ने दिशामा ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com