काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार झापाबाट काठमाडौं आइपुग्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। यद्यपि, उनलाई प्रहरी हिरासतमा भने राखिएको छैन।
प्रहरीका अनुसार प्रसाईँलाई विमानस्थलको निषेधित क्षेत्रमा सञ्चारकर्मी तथा युट्युबरसँग सार्वजनिक अभिव्यक्ति दिन नदिने उद्देश्यले नियन्त्रणमा लिइएको हो। त्यसपछि उनलाई प्रहरीको सवारीमार्फत भक्तपुरस्थित निवाससम्म पुर्याएर छाडिएको बताइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक प्रतिक्रिया दिन नपाइने व्यवस्थाअनुसार प्रसाईँलाई पत्रकारहरूसँग भेट्न नदिइएको जानकारी दिए।
प्रसाईँ झापाबाट नियमित रूपमा काठमाडौं आउने–जाने गर्दै आएका छन्। उनी काठमाडौं आइपुग्ने बेला विमानस्थलमा उनको प्रतिक्रिया लिन सञ्चारकर्मी र युट्युबरहरूको बाक्लो उपस्थिति रहने गरेको छ। तर यसपटक प्रहरीले विमानस्थल प्रवेशद्वारमै उनीहरूलाई रोकेपछि प्रसाईँसँग प्रत्यक्ष संवाद हुन सकेन।
प्रसाईँलाई नियन्त्रणमा लिएर हिरासतमा नराखी सीधै निवाससम्म पुर्याइएको घटनालाई पछिल्ला राजनीतिक घटनाक्रम र सम्भावित सार्वजनिक अभिव्यक्तिलाई ध्यानमा राखेर गरिएको सुरक्षा व्यवस्थापनका रूपमा हेरिएको छ। यद्यपि, यसबारे प्रहरीले औपचारिक रूपमा थप टिप्पणी गरेको छैन।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया