काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह घटनासँग सम्बन्धित महानगर प्रहरीका कर्मचारीविरुद्ध हालसम्म कुनै जाहेरी नपरेपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढेको छैन।
बिहीबार त्रिपुरेश्वरमा पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्वील लक’ लगाएपछि गणेश नेपाली र एक महिला नगर प्रहरीबीच विवाद भएको थियो। त्यसलगत्तै उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले महानगर प्रहरीका पाँच कर्मचारीलाई घटनाबारे सोधपुछका लागि कार्यालयमा बोलाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केहीलाई नियन्त्रणमा लिइएको भए पनि हाल उनीहरू प्रहरी हिरासतमा नरहेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार सम्बन्धित कर्मचारीलाई घटनाको विवरण बुझ्नका लागि बोलाइएको थियो। आवश्यक पर्दा पुनः उपस्थित हुने सर्तमा उनीहरूलाई घर फर्कन दिइएको उनले बताए।
प्रहरीका अनुसार मृतकका परिवार वा सरोकारवालाले आत्महत्या दुरुत्साहनलगायत कसुरमा कसैविरुद्ध किटानी जाहेरी दिएमा कानुनी प्रक्रिया अघि बढाइनेछ। तर, हालसम्म यस सम्बन्धमा कुनै जाहेरी वा निवेदन दर्ता भएको छैन।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया