काठमाडौं । प्रतिनिधिसभाकी प्रतिपक्षी सांसद गीता गुरुङले सुकुमबासी बस्ती हटाउने क्रममा सरकारको अपरिपक्व रअव्यवस्थित कदमका कारण नौ जनाले ज्यान गुमाएको आरोप लगाएकी छन्। उनले सरकारको तयारीविनाको निर्णयले विपन्न समुदाय थप संकटमा परेको भन्दै घटनाप्रति गम्भीर जवाफदेहिता खोजेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले सुकुमबासी व्यवस्थापनमा सरकारले अवलम्बन गरेको नीति अव्यावहारिक र मानवीय संवेदनाविपरीत रहेको बताइन्। उनका अनुसार राज्यको गलत कार्यशैलीका कारण १८ वर्षीय रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी तथा १८ महिनाका उज्ज्वल तामाङले ज्यान गुमाएका छन्।
सांसद गीता गुरुङले यी घटनालाई सामान्य दुर्घटना वा संयोगका रूपमा लिन नसकिने उल्लेख गर्दै राज्य संयन्त्रको गलत निर्णय र कार्यान्वयनका कारण भएको ‘संस्थागत हत्या’को संज्ञा दिइन्।
उनले सुकुमबासी समुदायको पुनःस्थापना, सुरक्षित व्यवस्थापन र मानवीय अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै घटनाको निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको मागसमेत गरिन्।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया