काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलमा एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने भएका छन्। यसका लागि गोकर्णेश्वर नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले ओम हस्पिटलमा उपचार गराउँदा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा प्राप्त गर्नेछन्। उपचारका क्रममा नेपाल सरकारले लागु गरेको ३ प्रतिशत कर समेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको जनाइएको छ। यसबाट नागरिकको उपचार खर्चमा थप राहत पुग्ने देखिएको छ।

सम्झौतामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रममा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमनारायण गौली, जनप्रतिनिधि तथा दुवै पक्षका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा पहुँचभित्र पुर्‍याउने उद्देश्यले स्वास्थ्य संस्थासँग सहकार्य अघि बढाएको जनाएको छ। यस सहकार्यबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने र स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com