एजेन्सी । संयुक्त राज्य अमेरिकाले बुधबार राति इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको छ। आक्रमणसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्तामा फर्किन र तनाव नबढाउन चेतावनी दिँदै ‘राम्रो व्यवहार’ नगरे थप कारबाही हुने संकेत दिएका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पछिल्लो सैन्य कारबाहीमा इरानका सैन्य कमाण्ड तथा नियन्त्रण केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र र ड्रोनसँग सम्बन्धित संरचना तथा तटीय निगरानी केन्द्रहरूलाई निशाना बनाइएको थियो। सेन्टकमले उक्त अभियान सम्पन्न भइसकेको जनाएको छ।
अमेरिकाले यी आक्रमणको उद्देश्य होर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय व्यापारिक जहाज र तिनका चालक दलमाथि इरानबाट हुन सक्ने सुरक्षा जोखिमलाई निष्क्रिय पार्नु रहेको दाबी गरेको छ।
यो सैन्य कारबाही इरानले बहराइन, कुवेतलगायत क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी सार्वजनिक भएपछि भएको हो।
यसैबीच, इरानका प्रमुख वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले राज्य सञ्चालित सञ्चारमाध्यमसँग कुरा गर्दै परमाणु सम्झौताबाट इरानलाई कुनै लाभ नपुगे त्यसलाई पालना गरिरहनुपर्ने आधार नरहेको बताएका छन्।
उता राष्ट्रपति ट्रम्पले मंगलबार राति नै इरान वार्तामा नफर्किए देशका पुल, ऊर्जा पूर्वाधार र अन्य रणनीतिक संरचनामाथि थप आक्रमण हुन सक्ने चेतावनी दिएका थिए।
बुधबार राति पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले कुनै निश्चित समयसीमा तोक्न नचाहेको बताए। उनले भने, ‘म समयसीमा तोक्न चाहन्नँ, तर उनीहरूलाई के गर्नुपर्ने हो भन्ने राम्रोसँग थाहा छ। उनीहरूले राम्रो व्यवहार गर्नुपर्छ।’
ट्रम्पले इरान वार्तामा इच्छुक देखिएको दाबी गर्दै अन्ततः सम्झौता गर्ने वा नगर्ने निर्णय अमेरिकाकै हातमा रहने पनि स्पष्ट पारे।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया