काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् ।

साउने संक्रान्ति तथा लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नामको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरेझैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि बिदा गर्नुपर्छ ।’

आङ्देम्बेले देशमा निरङ्कुश शासकीय प्रवृत्ति बढ्दै गएको दाबी गर्दै नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको र निमुखा तथा निर्धन जनताको आवाज दबाउने प्रवृत्ति बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले लोकतन्त्रको केन्द्रमा जनता हुनुपर्ने र जनतालाई शासनको विषय नभई राज्यशक्तिको केन्द्रका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

‘जनता नै सार्वभौमसत्ताको स्रोत हुन् भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा साउने संक्रान्ति र सिसेस्क्पा तङ्नाम पर्व प्रतिबद्धताको दिन पनि बनोस्,’ उनले भने ।

आङ्देम्बेले साउने संक्रान्ति, सिसेःक्पा तङ्नामजस्ता पर्वले प्रकृतिप्रतिको सम्मान, श्रमको मूल्य, सहअस्तित्व र समृद्धिको सन्देश दिने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com