काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’ मा समावेश गरिएको ‘म्याथ सिक्ने’ गीतप्रति गम्भीर आपत्ति जनाउँदै उक्त गीत तत्काल प्रसारण तथा प्रयोग रोक्न माग गरेको छ।

महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गीतमा महिला शिक्षकलाई लक्षित गरी प्रयोग गरिएका शब्द, भाव र प्रस्तुतीकरणले शिक्षक समुदायको प्रतिष्ठामाथि आघात पुगेको उल्लेख गरेको छ। महासंघका अनुसार उक्त गीतले विशेषगरी महिला शिक्षकको सम्मानमा ठेस पुर्‍याउनुका साथै समग्र शिक्षण पेसाको गरिमामाथि नकारात्मक प्रभाव पारेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गीतलाई तत्काल बन्द गरी चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।”

महासंघले शिक्षकको सामाजिक प्रतिष्ठा र सम्मान जोगाउन सबै सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै यस्ता सामग्रीले शिक्षा क्षेत्रप्रति समाजमा गलत सन्देश प्रवाह गर्न सक्ने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com