काठमाडौं। संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को आफ्नो सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।

सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले शुक्रबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी प्रावधान अनुसार अनिवार्य रूपमा सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।

जारी सूचना अनुसार सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र प्रमाणसहितको अद्यावधिक विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

यसरी विवरण बुझाउँदा सिलबन्दी खाममा सदस्यको नाम, आर्थिक वर्ष, लिंग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल स्पष्ट खुलाउनुपर्नेछ। यसका साथै प्रतिनिधिसभा सदस्यका हकमा जिल्ला वा निर्वाचन क्षेत्र नम्बर तथा राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेशको विवरणसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्पत्ति विवरण बुझाउनका लागि आवश्यक फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिने वा सचिवालयको आधिकारिक वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com