भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित एसएस चोकमा शनिबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार एसएस कलेजबाट बागमती पेट्रोल पम्पतर्फ सडक पार गर्दै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमी चोकबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि मध्यपुर थिमी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका–२ घर भई हाल काठमाडौंको तीनकुने बस्दै आएका १६ वर्षीय कबिर कार्कीको दिउँसो २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा पछाडि सवार काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीया अलिया विक गम्भीर घाइते भएकी छन्। उनको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालक खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा बस्दै आएका २४ वर्षीय मनिष राई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्जलगत्तै उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
भक्तपुर प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार दुर्घटनामा संलग्न दुवै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवीको नियन्त्रणमा राखिएको छ। घटनाको कारण खुलाउने गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया