काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्दै आएका एक पुरुषले व्यापार गर्न नपाएको गुनासो गर्दै आत्मदाह प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सोमबार जीवन अधिकारीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका थिए। घटनास्थलमा पुगेको प्रहरी वृत्त कीर्तिपुरको टोलीले तत्काल हस्तक्षेप गर्दै उनलाई उद्धार गरेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार अधिकारी नयाँबजार क्षेत्रमा सडक पेटीमा तरकारी बिक्री गर्दै आएका थिए। कीर्तिपुर नगरपालिकाले कार्यालय समयभर सडक पेटीमा व्यापार गर्न रोक लगाउँदै साँझ ६ बजेदेखि मात्रै व्यापार गर्न दिने व्यवस्था लागू गरेपछि सीमित समयमा व्यापार गर्नुपर्दा जीविकोपार्जन गर्न कठिन भएको भन्दै उनले यस्तो कदम चाल्न खोजेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नगर प्रहरीले सडक पेटी खाली गराउने क्रममा आफ्नो व्यापारमा ठूलो असर परेको भन्दै अधिकारीले असन्तुष्टि व्यक्त गरेका थिए। घटनापछि उनलाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको एसपी भट्टराईले जानकारी दिए।

यस घटनाले काठमाडौं उपत्यकामा सडक व्यापार व्यवस्थापन, वैकल्पिक रोजगारी र साना व्यवसायीको जीविकोपार्जनसँग सम्बन्धित चुनौतीप्रति पुनः बहस सुरु गराएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com