काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताएका छन्।

पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले बिपी कोइरालाको ४४औँ स्मृति दिवस तथा चौँथो स्थापना दिवसको अवसरमा आज मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा उनले मानवसेवा सबैभन्दा ठूलो सेवा भएको बताए।

उनले दिनदुःखी र बेसहाराका लागि मानवसेवा आश्रमले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। बिपी कोइरालाको राजनीति र धर्मसम्बन्धी दर्शनको जनकल्याण भएको उनको भनाइ थियो।

‘धर्म र राजनीति दुवैको अन्तिम लक्ष्य भनेको जनकल्याण नै हो, बिपीका अनुसार धर्मको एउटा पक्ष आध्यात्मिक हुन्छ भने अर्को पक्ष परोपकार हो, त्यसैगरी, राजनीतिको पनि मुख्य पक्ष भनेको सेवा र कल्याण नै हो,’ उनले भने। राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्ने सभापति थापाको भनाइ थियो।

नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले सङ्घले हरेक वर्ष बिपी स्मृति दिवसको अवसरमा यस्ता सामाजिक र पुण्य काम गर्दै आइएको जानकारी दिए। होटल व्यवसायीको काम व्यवसायसँगै समाजसेवा भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले हाल देशभरका सातै प्रदेशका २३ जिल्लाका ३४ स्थानबाट मानसेवाको काम गर्दै आइरहेको जानकारी दिए।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com