काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार लामिछानेको नेतृत्वमा चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी भएको हो।
भ्रमणका क्रममा चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता हुने बताइएको छ। यद्यपि भेटवार्ता हुने नेताहरूको औपचारिक विवरण सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग भेटवार्ता हुने सम्भावना छ।
रास्वपाको उक्त भ्रमण पार्टी–पार्टी सम्बन्ध विस्तार गर्ने उद्देश्यले हुन लागेको बताइएको छ। भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
एक उच्च सरकारी अधिकारीका अनुसार लामिछानेलाई यसअघि नै चीन भ्रमणको निम्तो प्राप्त भए पनि यसपटकको भ्रमणमा उच्च तहमा महत्वपूर्ण राजनीतिक संवाद हुने संकेत प्राप्त भएको छ।
‘यो पार्टी–पार्टी सम्बन्धअन्तर्गतको भ्रमण हो। सभापतिज्यूलाई यसअघि नै चीनबाट निम्तो आएको थियो। यसपटक भने उच्च तहमा थप गहन संवाद हुने संकेत पाएका छौँ,’ ती अधिकारीले भने।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण करिब पाँच दिनको हुने बताइएको छ। भ्रमण टोलीमा सहभागी अन्य सदस्यको नाम भने सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया