काठमाडौं । सिरहाको लहानमा लागूऔषध नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले बिहीबार दिउँसो लहानस्थित हस्पिटल चोकमा कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषधसहितको समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ।
प्रहरीको गोली लागेर एक भारतीय नागरिक र एक नेपाली नागरिक घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया