काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत लिइने जरिवाना बढाउने तयारी भइरहेका बेला नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सवारी चालकलाई ट्राफिक कारबाहीमा पर्ने अवस्थै नआउने गरी नियम पालना गर्न आग्रह गरेका छन्।
मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले जरिवाना बढाउनेभन्दा पनि चालकले नियम पालना गरेर कारबाहीमा पर्नै नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए।
‘जरिवाना काट्नै नपरोस्, जरिवानाको टिकट लेख्नै नपरोस् भन्ने लाग्छ,’ उनले भने। तर, मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा हेलमेट नलगाउनेजस्ता गम्भीर नियम उल्लङ्घनका घटनामा भने कारबाही गर्न प्रहरी बाध्य हुने उनको भनाइ थियो।
पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्दै पाँचौँ पटकसम्म कारबाहीमा परेका चालकप्रति व्यंग्य गर्दै आईजीपी कार्कीले त्यस्ता चालकमा सद्बुद्धि पलाओस् भन्ने कामना गरे।
उनले कानुन कार्यान्वयन गरेर मात्रै सुरक्षित समाज निर्माण सम्भव नहुने भन्दै नागरिकमा प्रभावकारी जनचेतना र सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताए।
ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी शिक्षा विद्यालय तहदेखि नै दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘स्कुल तहदेखि नै ट्राफिक शिक्षा भइदिए हुन्थ्यो।’
उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूले समेत ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको उल्लेख गर्दै आईजीपी कार्कीले शिक्षित नागरिकले पनि नियम पालना गर्ने संस्कार विकास गर्नुपर्ने बताए। ‘डिग्री हासिल गरेकाले पनि नियम उल्लङ्घन गर्दै गरेको प्रहरीले भेट्टाउन नपरोस्,’ उनले भने।
अभिभावकको व्यवहारबाट बालबालिकाले सिक्ने भएकाले घरबाटै नियम पालना गर्ने संस्कारको विकास गर्नुपर्ने उनको भनाइ थियो। ‘हामीले नियम उल्लङ्घन गर्यौँ भने बालबालिकाले पनि त्यही सिक्छन् कि भन्ने चिन्ता हो,’ उनले भने।
आईजीपी कार्कीले असल व्यवहारको सुरुवात घर र कार्यस्थलबाटै हुने उल्लेख गर्दै सबै नागरिकले आफूबाटै नियम पालना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
यसैबीच, २०६९ सालमा स्थापना भएको मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले आफ्नो स्थापनाको १४औँ वर्ष पूरा गरेको छ। एफएमको १४औँ वार्षिकोत्सव शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो।
कार्यक्रममा आईजीपी कार्कीसहित प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी), अभिनेता राजेश हमाल, हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया