काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउन नयाँ आन्तरिक निर्देशिका जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको निर्देशनमा स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा कुनै पनि प्रकारको आर्थिक चलखेललाई कडाइका साथ निषेध गरिएको छ।
निर्देशनअनुसार स्वकीय सचिवको नियुक्ति योग्यता, क्षमता, निष्पक्षता र व्यावसायिक दक्षताका आधारमा गर्नुपर्नेछ। सम्बन्धित क्षेत्रमा आवश्यक शैक्षिक योग्यता, अनुसन्धान क्षमता तथा कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। साथै महिला, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गका योग्य उम्मेदवारको सहभागितालाई समेत प्रोत्साहन गरिएको छ।
रास्वपाले नियुक्तिमा स्वार्थ बाझिने अवस्था हुन नहुने स्पष्ट गर्दै सरकारी वा गैरसरकारी संस्थाबाट दोहोरो सुविधा लिइरहेका वा अन्य कुनै स्वार्थसँग जोडिएका व्यक्तिलाई स्वकीय सचिव नियुक्त नगर्न सांसदहरूलाई निर्देशन दिएको छ।
निर्देशनमा स्वकीय सचिव छनोटका लागि सम्भव भएसम्म खुला र प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने उल्लेख गरिएको छ। सम्बन्धित सांसदले योग्य उम्मेदवार छनोट गरेपछि पार्टीको स्वीकृति प्राप्त भएपछि मात्र नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ।
पार्टीले नियुक्तिसम्बन्धी कुनै विवाद, उजुरी वा प्रश्न उठेमा आवश्यक छानबिन गरी अन्तिम निर्णय गर्ने अधिकार पार्टीमै रहने जनाएको छ। आर्थिक चलखेल, पक्षपात वा निर्देशिकाविपरीत नियुक्ति भएको पुष्टि भए आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ।
त्यस्तै, सबै संघीय सांसदले स्वकीय सचिव पदपूर्तिका लागि एउटै साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ नियुक्तिका लागि सार्वजनिक आह्वान गर्दा सोही ढाँचाको अनिवार्य प्रयोग गर्न पार्टीले निर्देशन दिएको छ।
रास्वपाका अनुसार यो व्यवस्था सांसदहरूको सचिवालयलाई थप व्यावसायिक, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले लागू गरिएको हो।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया