काठमाडौं । अभिनेता राजेश हमालले सडक व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउन आम नागरिकको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्र जिम्मेवारी नभई सडक प्रयोग गर्ने प्रत्येक नागरिकको साझा दायित्व भएको बताए।

सडकमा देखिने अव्यवस्था र जामको प्रमुख कारणमध्ये मानिसको हतारो र ‘पहिला म’ भन्ने मानसिकता पनि रहेको उल्लेख गर्दै उनले ‘पहिला तिमी’ भन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

‘यदि हामीले आफ्नो मनोविज्ञानमा पहिला म भन्न छाडेर पहिला तिमी भन्न थाल्यौँ भने सडक व्यवस्थापनमा धेरै सहजता आउँछ,’ उनले भने।

उनका अनुसार सबैले आफ्नो पालोभन्दा अरूलाई प्राथमिकता दिने संस्कार विकास गरे सडकमा एकैपटक सबै अगाडि बढ्न खोज्ने प्रवृत्ति घट्नेछ। यसले सवारीसाधन तथा पैदलयात्रुको आवागमनलाई सहज बनाउनुका साथै अनावश्यक जामसमेत कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

हमालले सडक व्यवस्थापनको समाधान सडक फराकिलो बनाउनु मात्र नभएको बताए। नेपालभन्दा साँघुरा सडक भएका कतिपय देशमा पनि यातायात व्यवस्था व्यवस्थित र सहज रूपमा सञ्चालन भइरहेको उदाहरण दिँदै उनले त्यसको मुख्य कारण प्रभावकारी ट्राफिक व्यवस्थापन र नागरिकको अनुशासित व्यवहार भएको बताए।

‘सडक चौडा बनाउँदैमा मात्र समस्या समाधान हुँदैन। यातायात व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनु मुख्य कुरा हो,’ उनले भने।

ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुका साथै नागरिकलाई ट्राफिक नियम र त्यसको महत्वबारे निरन्तर सचेत गराउनुपर्ने हमालको भनाइ थियो। त्यस्तै, नागरिकले पनि आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्ने उनले बताए।

सबै नागरिकले ट्राफिक नियमको पालना गर्दै जिम्मेवार भएर सडक प्रयोग गरेमा त्यसको लाभ सबैले पाउने उल्लेख गर्दै हमालले सडक व्यवस्थापनमा प्रहरी र नागरिक दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com