काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि पनि नीट (NEET) परीक्षा धाँधलीविरुद्ध भइरहेको आन्दोलन साम्य भएको छैन। आन्दोलनका अगुवा अभिजीत दीपकेले बाँकी मागहरू पूरा नभएसम्म दिल्लीको जन्तरमन्तरबाट नहट्ने चेतावनी दिएका छन्।
मन्त्रीको राजीनामालाई आन्दोलनको पहिलो सफलता मात्र भएको उल्लेख गर्दै दीपकेले आन्दोलन अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरे। जन्तरमन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मन्त्रीको राजीनामा त भयो, तर हाम्रा प्रमुख दुई माग अझै बाँकी छन्। ककरोच (अड्डा जमाएर बस्ने किरा) एकपटक छिरेपछि सजिलै निस्कँदैन, माग पूरा नभएसम्म हामी पनि यहाँबाट हट्ने छैनौँ।’
आन्दोलनकारीहरूले नीट प्रश्नपत्र बाहिरिएपछि तनावका कारण आत्महत्या गर्न बाध्य भएका विद्यार्थीका परिवारलाई १-१ करोड रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने र घटनामा संलग्न दोषी प्रहरी अधिकारीहरूलाई कारबाही गरिनुपर्ने मुख्य माग अघि सारेका छन्।
प्रहरीको व्यवहारप्रति कडा आपत्ति जनाउँदै दीपकेले दिल्ली प्रहरीलाई चेतावनी समेत दिएका छन्। ‘एकजना शक्तिशाली मन्त्रीलाई राजीनामा दिन बाध्य पार्न सक्ने शक्ति विद्यार्थीसँग छ भने प्रहरी अधिकारीहरूले हामीसँग निहुँ खोज्ने गल्ती नगरून्। विद्यार्थीहरूमाथि लगाइएका सबै झुटा मुद्दा तत्काल फिर्ता हुनुपर्छ,’ उनले भने।
आन्दोलनका क्रममा भोगेका चुनौती र लोकतन्त्रको शक्तिबारे बोल्दै उनले थपे, ‘यो लोकतन्त्रको जित हो। महिना दिनदेखि मानिसहरूले हामीलाई सरकारले राजीनामा दिँदैन, के गर्दैछौ भनेर सोध्थे। तर निरन्तरको सङ्घर्षले हामीले परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखायौँ।’
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया