काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर चुनौती खडा गरेको आरोप लगाएका छन्। उनले सरकारका पछिल्ला निर्णय र गतिविधि राष्ट्रिय हित, नागरिक अधिकार तथा संविधानको मूल मर्मविपरीत उन्मुख भएको दाबी गरे।

शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा सरकारले जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे। संसदमा नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिलाई समर्थन गरिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाए। यस्तो प्रकारको अभिव्यक्ति नेपालको राजनीतिक इतिहासमै राष्ट्रहितविपरीत र सामाजिक विभाजन निम्त्याउने प्रकृतिको भएको उनको भनाइ थियो।

संविधान संशोधनको विषयमा बोल्दै श्रेष्ठले संशोधनको प्रक्रिया संविधानको आधारभूत भावना, लोकतान्त्रिक मूल्य र समाजवाद उन्मुख व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए। लोकतान्त्रिक अधिकार कमजोर बनाउने वा संविधानको मर्मलाई क्षति पुर्‍याउने कुनै पनि संशोधन स्वीकार्य नहुने उनको धारणा थियो।

श्रेष्ठले सरकारले अभिव्यक्ति स्वतन्त्रता, संगठनको अधिकार तथा लोकतान्त्रिक अभ्यासमाथि नियन्त्रण बढाउन खोजेको आरोप पनि लगाए। शैक्षिक तथा प्राज्ञिक संस्थालाई दलीय प्रभावबाट मुक्त बनाउने नाममा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै उनले त्यसको विरोध गरे। अर्कोतर्फ, दलीयकरण अन्त्यको कुरा गर्ने सरकारले आफ्ना निकट व्यक्तिहरूलाई संवैधानिक तथा न्यायिक निकायमा नियुक्त गरेर दोहोरो मापदण्ड अपनाएको उनको आरोप थियो।

सुकुमबासी व्यवस्थापनको विषयमा पनि उनले सरकारको कडा आलोचना गरे। डोजर र सुरक्षाकर्मी परिचालन गरेर भूमिहीन तथा सुकुमबासीलाई बलपूर्वक हटाइएको, होल्डिङ सेन्टरमा आधारभूत सुविधा बिना राखिएको तथा उनीहरूमाथि अमानवीय व्यवहार गरिएको भन्दै उनले सरकारको कदम मानवीय संवेदनाविपरीत रहेको बताए।

श्रेष्ठले श्रमजीवी, उत्पीडित र विपन्न समुदायमाथि अन्याय भइरहँदा कम्युनिस्ट आन्दोलन प्रभावकारी प्रतिरोध गर्न नसकेको स्वीकार गर्दै त्यसको मुख्य कारण वैचारिक र सांस्कृतिक विचलन रहेको बताए। उनले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि देखिएको चुनौतीको सामना गर्न कम्युनिस्ट शक्तिहरूले आत्मसमीक्षा गर्दै जनपक्षीय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com