काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखसँग घटनाबारे छलफल गरेका छन्।
सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख नारायदत्त पौडेलसँग घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गृहमन्त्रीले सुरक्षा प्रमुखबाट घटनाको विस्तृत ब्रिफिङ लिँदै शान्ति–सुरक्षा कायम गर्न भइरहेका प्रयासबारे जानकारी लिएका छन्।
प्रहरीका अनुसार गएराति दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार हिन्दु समुदायले मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको तथा त्यसअघि विद्युत् पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दु समुदायको झन्डा राखिएको विषयमा विवाद बढेपछि झडपको अवस्था सिर्जना भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड र सशस्त्र प्रहरीले सात राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले बताएका छन्। यद्यपि, सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्र प्रहरीले २० राउन्ड फायर गरेको बताएका छन्।
झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरीका १० जना, सशस्त्र प्रहरीका पाँच जना तथा नौ जना स्थानीय घाइते भएका छन्।
घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप तनाव हुन नदिन सुरक्षा निकायले निगरानी बढाएको जनाइएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया