काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको झडपमा स्थानीयको मृत्यु भएपछि त्यसको विरोधमा सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा प्रदर्शन भएको छ।
झडपका क्रममा गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनाको विरोधमा स्थानीयले इनरुवामा प्रदर्शन गरेका छन् भने लौकही बजारमा समेत युवाहरूले विरोध जनाएका छन्।
घटनामा घाइते भएका व्यक्तिहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्थानीयको मृत्यु भएपछि सोमबार बिहानदेखि कर्फ्यु जारी रहेको क्षेत्रमा समेत स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
कप्तानगञ्जमा नेपाली सेनाले बख्तरबन्द गाडीबाट गस्ती थालेपछि अहिले अवस्था केही सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यसैबीच, घटनाको पछिल्लो अवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक बसिरहेको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरू सहभागी छन्।
प्रशासनले घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाउँदै शान्ति–सुरक्षा कायम गर्ने प्रयास गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार












प्रतिक्रिया