काठमाडौं । प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीको भूमिकामाथि निष्पक्ष छानबिन गरी दोषी देखिए निलम्बनसहित विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार गृहमन्त्री सुधन गुरुङलाई भेटेर सांसद साहले साउन १० गते राति बोलबम यात्राका क्रममा दुई समुदायबीच भएको झडपमा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको तथा आठ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी पनि उनले गृहमन्त्रीलाई गराएका छन्।

सांसद साहले घटनाका कारण स्थानीय शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा गम्भीर असर परेको उल्लेख गर्दै घटना रोकथाम, नियन्त्रण तथा परिस्थितिलाई सामान्य बनाउन प्रशासन र सुरक्षा निकायको भूमिका प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो रहेको बताए।

उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी) तथा जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्। छानबिनबाट कमजोरी वा लापरबाही देखिए आवश्यकताअनुसार निलम्बनसहित विभागीय कारबाही अघि बढाउन उनले आग्रह गरेका छन्।

त्यस्तै, घटनाको स्वतन्त्र, निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्न सांसद साहले सरकारसँग माग गरेका छन्।

उनले मृतकका परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत आग्रह गरेका छन्।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत, कानुनी र संस्थागत सुधार गर्नुपर्नेमा जोड दिँदै सांसद साहले सुनसरीलगायत संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन माग गरेका छन्।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न विशेष सतर्कता अपनाउन आग्रह गर्दै उनले घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक हुने र पीडितले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। दोषीलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालयबाट तत्काल प्रभावकारी पहल हुने अपेक्षासमेत उनले गरेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com