काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी अवरुद्ध स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै हुने दुर्व्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित र सम्मानजनक कार्य वातावरण उपलब्ध गराउनु राज्यको दायित्व भएको उनको भनाइ छ।
चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचारको प्रतीक्षामा रहेका हजारौँ बिरामी प्रभावित भएको उल्लेख गर्दै थापाले समस्याको तत्काल समाधानसँगै भविष्यमा यस्ता घटना दोहोरिन नदिने दीर्घकालीन उपायसमेत खोज्नुपर्नेमा जोड दिएका छन्।
उनले आन्दोलनरत चिकित्सकका जायज माग सम्बोधन गर्दै अवरुद्ध स्वास्थ्य सेवा यथाशीघ्र सञ्चालन हुने अवस्था सिर्जना गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने बताएका छन्।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया