काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न सुविधा दिने सरकारको निर्णयप्रति असहमति जनाएका छन्।
मंगलबार पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै घिसिङले सांसदहरूका लागि छुट्टै स्वकीय सुविधा उपलब्ध गराउने व्यवस्था उचित नभएको बताएका हुन्।
उनले सरकार सुशासनप्रति प्रतिबद्ध भए सांसदहरूले स्वकीय सचिव राख्न चाहे आफ्नै तलबबाट खर्च व्यवस्थापन गर्नुपर्ने धारणा राखे।
‘यो सरकारले सुशासन कायम गर्ने हो भने सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्दा हुन्छ। सांसदका स्वकीयलाई छुट्टै सुविधा नदिएको भए राम्रो हुन्थ्यो। मन्त्रीलाई दुई–तीन जना स्वकीय राख्ने व्यवस्था गर्न सकिन्छ। हाम्रो पार्टी सबै सांसदलाई स्वकीय राख्ने सरकारको निर्णयको विपक्षमा छ,’ उनले भने।
घिसिङले राज्यको खर्चभार बढाउने गरी सांसदहरूलाई थप सुविधा उपलब्ध गराउनेभन्दा सुशासन र मितव्ययितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया