काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी नेपालका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।
लामिछानेले जारी गरेको विज्ञप्तिमा घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध रहेको उल्लेख गर्दै कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट पारेका छन्।
नेपाली समाजको प्रमुख शक्ति बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव भएको उल्लेख गर्दै उनले त्यसमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।
उनले संवेदनशील अवस्थामा उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु सबैको प्रमुख दायित्व भएको बताएका छन्।
लामिछानेले तत्काल शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन सरकार तथा स्थानीय प्रशासनसँग रास्वपा निरन्तर समन्वय र सहजीकरणमा रहेको पनि बताएका छन्।
घटनाको वास्तविक कारण र जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष तथा शीघ्र छानबिन गर्न सरकारसँग माग गर्दै उनले दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्। साथै पीडितलाई उचित न्याय, राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै लामिछानेले परिस्थितिलाई सामान्य बनाउन तथा आपसी संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षलाई विशेष आग्रह गरेका छन्। साथै रास्वपाका स्थानीय समितिका सदस्यलगायत पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम गर्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन्।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया