विराटनगर । नेपालमा प्लाइउड उत्पादनसँगै भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।
कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने तयारीस्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ। आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले २०८३ साउन २२ गते आफ्नो रजिस्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको जनाएको छ।
कम्पनीका अनुसार ग्रिनप्लाई नेपालले छोटो समयमै प्लाइउड उद्योगमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बिक्री अघिल्लो आर्थिक वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको जनाएको छ।
कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन भइरहेको दाबी गर्दै यसले आफ्नो वित्तीय अवस्था, व्यवस्थापन क्षमता र व्यावसायिक स्थायित्व बलियो रहेको जनाएको छ।
ग्रिनप्लाई नेपालले कुल उत्पादनको करिब ३० प्रतिशत हिस्सा स्वदेशी बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ।
निर्यात प्रवर्द्धनमा योगदान गरेबापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको छ। कम्पनीका अनुसार भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गर्न आवश्यक बीआईएस प्रमाणीकरणसमेत प्राप्त गरिसकेको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा यसको वित्तीय तथा पुँजीगत संरचनामा उल्लेखनीय सुधार भएको छ। कम्पनीको समग्र गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ।
सो अवधिमा ६ करोड रुपैयाँ नयाँ शेयर पुँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)अनुसार सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको जनाएको छ।
ग्रिनप्लाई नेपालले गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादनलाई आफ्नो मुख्य व्यवसायका रूपमा अघि बढाएको जनाएको छ।
आधुनिक प्रविधि, दक्ष व्यवस्थापन, गुणस्तर नियन्त्रण र प्रभावकारी वितरण सञ्जालमार्फत बजार विस्तारलाई तीव्रता दिने कम्पनीको योजना छ।
आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माणका क्षेत्रमा बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी र नवप्रवर्तनमा जोड दिने रणनीति कम्पनीले अघि सारेको छ।
नेपालमा प्लाइउडको आयात प्रतिस्थापन गर्दै स्वदेशी माग पूरा गर्ने र निर्यात बजार थप विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ। दीर्घकालीन रूपमा लगानीकर्ताका लागि मूल्य सिर्जना गर्दै उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिस्टर्ड कार्यालय रहेको ग्रिनप्लाई नेपाल लिमिटेडको अध्यक्षमा उद्योगी जीवनप्रसाद रिजाल छन्।
कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाललगायतको प्रमुख लगानी रहेको जनाएको छ।
यस्तै, स्टार इन्भेस्टमेन्ट फन्ड लिमिटेड, टप फन्ड लिमिटेड र हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।
उत्पादनमूलक उद्योग, निर्यातमुखी व्यवसाय, वित्तीय अवस्था, अनुभवी नेतृत्व र दीर्घकालीन विस्तार रणनीतिका कारण ग्रिनप्लाई नेपाललाई नेपालको उत्पादन क्षेत्रमा सम्भावना बोकेको कम्पनीका रूपमा प्रस्तुत गरिएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया