काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न गठित समिति घटनास्थल पुगेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले घटनास्थलको स्थलगत अध्ययन थालेको हो। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहित पाँच जना सदस्य रहेका छन्।
टोलीले झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग पनि भेटघाट गरेको छ। भेटका क्रममा समितिका सदस्यहरूले घटनाबारे परिवारका सदस्यसँग जानकारी लिएका थिए।
समितिका संयोजक थापाले घटनासँग सम्बन्धित सबै पक्षको भनाइ र स्थलगत अवस्थालाई समेटेर गृह मन्त्रालयमा प्रतिवेदन बुझाइने बताए।
पीडित परिवारसँगको भेटमा उनले भने, ‘सबै मागहरू समेटेर स्थलगत प्रतिवेदन बुझाउँछौँ। फिल्डको यथार्थ बुझेर त्यसलाई प्रतिवेदनमार्फत सम्बन्धित निकायसम्म पुर्याउनु हाम्रो काम हो।’
समितिले घटनाको स्थलगत अवस्था, झडपको कारण तथा सुरक्षाकर्मी परिचालन र गोली चलेको अवस्थालगायत विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनेछ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया