सुर्खेत । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट प्राप्त हुने कुनै पनि सुविधा तथा सुरक्षा नलिने घोषणा गरेका छन्।
मुख्यमन्त्री पदबाट पद हस्तान्तरण गरेपछि पैदलै आफ्नो निजी निवास पुगेका कँडेलले त्यहाँबाट सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।
कँडेलले कर्णाली प्रदेशको मुख्यमन्त्रीका रूपमा करिब २७ महिना जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा सम्पूर्ण कर्णालीवासीप्रति आभार व्यक्त गरेका छन्।
उनले लोकतान्त्रिक शासन व्यवस्थामा पद र जिम्मेवारी परिवर्तन स्वाभाविक प्रक्रिया भए पनि जनताको सेवा, लोकतान्त्रिक मूल्यप्रतिको निष्ठा र प्रतिबद्धता कुनै निश्चित पद वा जिम्मेवारीमा सीमित नहुने बताएका छन्।
आफ्नो कार्यकालमा सहयोग गर्ने कर्णालीवासी, प्रदेशसभा सदस्य, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा विकासका साझेदारहरूप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। साथै, आफूभन्दा फरक मत राख्दै रचनात्मक सुझाव, आलोचना र खबरदारी गर्नेहरूप्रति पनि सम्मान प्रकट गरेका छन्।
कँडेलले कार्यकालको सुरुवातदेखि नै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र विकासको संस्थागत आधार निर्माणका लागि इमानदार प्रयास गरेको दाबी गरेका छन्।
प्रदेश संरचनाको सीमित दायराभित्र रहेर आफूले गरेका प्रयास र त्यसबाट हासिल भएका उपलब्धिको निष्पक्ष मूल्याङ्कन गर्ने जिम्मेवारी कर्णालीवासीलाई नै सुम्पिएको उनले बताएका छन्।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया