सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत मेहताको बिहीबार दिउँसो निधन भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार उनको अवस्था सुरुदेखि नै गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
मेहताको पेटमा गोली लागेको थियो। सोमबार शल्यक्रिया गरिए पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापछि अस्पताल परिसरमा सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित तनावलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्याइएलगत्तै आइतबार राति निधन भएको थियो।
जयप्रकाश मेहताको मृत्यु भएसँगै कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। हाल उनको शव न्युरो अस्पतालमै राखिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया