जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–स्थित दशरथनगर क्षेत्रमा तीन जना बालक घाइते हुने गरी भएको आक्रमणपछि स्थानीय अवस्था थप तनावपूर्ण बनेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
स्थानीयका अनुसार घटना लगत्तै ठूलो संख्यामा सर्वसाधारण घटनास्थलमा भेला भएका छन्। सम्भावित अप्रिय अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त टोली परिचालन गरिएको छ।
घाइते तीनै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। गम्भीर घाइते बालकको सघन उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। घाइतेहरूको परिचय र घटनाको विस्तृत विवरण भने सम्बन्धित निकायले सार्वजनिक गरिसकेको छैन।
घटनापछि जनकपुरधामको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। यसअघि नै जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश लागू गरिसकेको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान अघि बढाइएको जनाएको छ। साथै, जिल्ला प्रशासनले अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नफैलाउन तथा शान्ति–सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न सबैसँग अपिल गरेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया