काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा हालै भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सम्पूर्ण नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

बुधबार निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै यही विविधताभित्रको एकताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको बताएका छन्।

उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपाली समाज आपसी मेलमिलाप, प्रेम, सद्भाव र सहअस्तित्वको भावनामा आधारित रहेको उल्लेख गर्दै धर्म, संस्कृति र परम्परागत मूल्य–मान्यतालाई सम्मान गर्नु नेपाली समाजको मौलिक विशेषता भएको बताएका छन्। उनले यस्तो राष्ट्रिय विशेषता र गौरवमा कुनै पनि बहानामा खलल पुग्न नहुने धारणा व्यक्त गरेका छन्।

सन्देशमा केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी विवाद तथा हिंसात्मक घटनाबाट जनधनको क्षति भएको र त्यसको असर कोशी प्रदेश तथा तराईका विभिन्न क्षेत्रमा फैलिँदा जनजीवन प्रभावित बनेकोप्रति चिन्ता व्यक्त गरिएको छ।

पूर्वराजा शाहले नेपाललाई सामाजिक सद्भाव र सहिष्णुताको उदाहरणका रूपमा चिनिने देश भन्दै यस्ता अवाञ्छित घटना नेपालको मौलिक मूल्य, संस्कृति र सामाजिक मान्यताविपरीत भएको उल्लेख गरेका छन्।

उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई जात, धर्म, भाषा वा समुदायभन्दा माथि उठेर राष्ट्रिय एकता, आपसी विश्वास र भाइचाराको भावना बलियो बनाउन आग्रह गरेका छन्। वर्तमान परिस्थितिमा यही नै राष्ट्रको सबैभन्दा ठूलो आवश्यकता भएको उनको भनाइ छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com