काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेशका सांसदहरूले सुनसरी घटनापछि विकसित परिस्थितिलाई लिएर गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी सभापति रवि लामिछानेसँग भएको छलफलमा सहभागी सांसदहरूले सुनसरीबाट सुरु भएको घटनाक्रम मधेशका विभिन्न जिल्लासम्म फैलिँदा पनि गृहमन्त्रीले सम्बन्धित क्षेत्रका जनप्रतिनिधिसँग आवश्यक समन्वय र परामर्श नगरेको गुनासो गरेका हुन्।

छलफलमा सहभागी एक सांसदका अनुसार, सुनसरी घटनापछि उत्पन्न अवस्थाबारे प्रभावित जिल्लाका सांसदहरूसँग गृह मन्त्रालयले कुनै औपचारिक संवाद नगरेकाले स्थानीय परिस्थिति व्यवस्थापनमा कमजोरी देखिएको धारणा राखिएको थियो।

ती सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटनाले अहिले मधेशका विभिन्न जिल्लामा पनि प्रभाव पारेको छ। यस्तो संवेदनशील अवस्थामा गृहमन्त्रीले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफलसमेत गर्नुभएन। यही विषयमा हामीले सभापतिसमक्ष असन्तुष्टि व्यक्त गरेका हौं।’

छलफलका क्रममा सभापति रवि लामिछानेले पछिल्लो घटनाक्रमप्रति पार्टी गम्भीर र संवेदनशील रहेको बताएका थिए। साथै, सामाजिक सद्भाव कायम राख्न आवश्यक पहलस्वरूप आफू स्वयं मधेश जाने सम्भावनाबारे पनि छलफल भएको बैठकमा सहभागी सांसदले जानकारी दिए।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com