काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोलाएका छन्।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार अपराह्न पौने ५ बजेका लागि बैठक आह्वान गरिएको हो। सुनसरी र मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।
बैठकमा सम्बन्धित क्षेत्रका सबै सांसदको अनिवार्य उपस्थितिका लागि विशेष सर्कुलर जारी गरिएको छ। रास्वपा संसदीय दलका अनुसार सभापति लामिछानेले बैठकमार्फत सांसदहरूलाई विशेष निर्देशन, आवश्यक मार्गदर्शन र आगामी रणनीतिबारे जानकारी गराउनेछन्।
पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रको वस्तुस्थिति, जनप्रतिनिधिको धारणा र पार्टीको भूमिकाबारे साझा निष्कर्ष निकाल्ने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया