काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपको प्रभाव मधेशसम्म फैलिरहेका बेला सिरहाको गोलबजारमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका एक युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धरान लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार गोलबजारमा भएको झडपमा घाइते धनुषाको मिथिला बिहारी नगरपालिका–८ निवासी १९ वर्षीय सुवास ठाकुरलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको हो। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उक्त घटनामा गोलबजार नगरपालिका–४ का ६२ वर्षीय आलम खान पनि घाइते भएका छन्। उनको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ।
दुई पक्षबीच भएको झडपका क्रममा औरही गाउँपालिका–२ निवासी १८ वर्षीय गणेश यादवको मृत्यु भएको छ। घटनापछि गोलबजारको सुरक्षा अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया