विराटनगर । सुनसरीको देवानगञ्ज–स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा विभिन्न स्थानमा टायर बालिएको छ भने बजार–पसल बन्द भएका छन्। यातायात सेवा पनि प्रभावित बनेको छ।
गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो। उक्त घटनापछि सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको छ। सहमतिअनुसार मृतकहरूको अन्त्येष्टि आजै दिउँसो गर्ने तयारी गरिएको छ।
सरकार र पीडित पक्षबीच सहमति भए पनि विराटनगरमा विरोध प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीहरूले विभिन्न चोकमा टायर बालेर विरोध जनाएका छन्, जसका कारण दैनिक जनजीवन प्रभावित बनेको छ।
यसअघि बिहीबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकले शुक्रबार दिउँसो ३ बजे सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो। तर केही पक्षले वर्तमान संवेदनशील अवस्थामा तत्काल र्याली निकाल्नु उपयुक्त नहुने भन्दै त्यसप्रति असहमति जनाएका थिए।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया