काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई नियन्त्रणमा लिन सरकार पूर्ण रूपमा सक्रिय रहेको बताएका छन्। उनले नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र घटनाको निष्पक्ष छानबिन सरकारको सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारे।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट निर्वाचित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको जानकारी दिए। उनले नागरिकलाई अफवाह र त्रासबाट प्रभावित नहुन तथा संयमता अपनाउन आग्रह गरे।

प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रका नागरिकसम्म तत्काल राहत, सुरक्षा र राज्यको उपस्थितिको अनुभूति गराउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ। शान्ति–सुरक्षा थप सुदृढ बनाउन र परिस्थितिलाई सामान्य बनाउन बहुआयामिक रणनीति कार्यान्वयनमा रहेको उनले बताए।

छलफलका क्रममा प्रधानमन्त्रीले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा तत्काल पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न, उनीहरूको समस्या बुझ्न र राज्य तथा नागरिकबीच विश्वासको सेतु बन्न आग्रह गरे। संकटको समयमा जनताको साथमा उभिनु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो।

बैठकमा सहभागी सांसदहरूले आफूहरू तत्काल निर्वाचन क्षेत्रमा फर्किएर स्थानीय बासिन्दासँग समन्वय र संवादलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको धारणा पनि राखेका थिए।

सांसदहरूले दीर्घकालीन शान्ति र सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक नेतृत्वबीच निरन्तर संवाद आवश्यक रहेको सुझाव दिएका छन्। साथै, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम, अफवाह र उत्तेजनात्मक सामग्रीबाट विशेषगरी युवापुस्तालाई जोगाउन स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com