सिरहा । सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारसँग नेपाल सरकारबीच ८ बुँदे सहमति भए पनि सिरहामा लगाइएको कर्फ्यु भने अझै यथावत रहेको छ।
कर्फ्युका कारण सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।भने,अत्यावश्यक कामका लागि घरबाट निस्केका व्यक्तिहरूलाई सुरक्षाकर्मीले सोधपुछपछि मात्र आवतजावत गर्न दिइरहेका छन्।सहमति भइसके पनि सडकमा सर्वसाधारणको चहलपहल न्यून देखिएको छ भने सुरक्षा व्यवस्था अझै कडा पारिएको छ। विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका टोली परिचालन गरिएका छन्।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृतक परिवारसँग सहमति भए पनि कर्फ्यु हटाउने वा केही समय निरन्तरता दिने विषयमा प्रशासनको बैठक केहीबेरमै बस्नेछ। बैठकको निर्णयपछि मात्र कर्फ्युबारे औपचारिक जानकारी सार्वजनिक गरिने उनले बताए।

गृहमन्त्री र गणेश यादबका परिवारबिच के-के भयो सहमती ?

यसअघि बिहीबार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही गाउँपालिका–२ तुलसियाही पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका हुन्।

सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।

यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ। सहमतिअनुसार शुक्रबार (साउन १६) गणेश यादवको दाहसंस्कार गर्ने उल्लेख गरिएको छ।सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com