काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको सीमित घेराभन्दा माथि उठाएर जनसेवा र मानव सेवाको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले पछिल्लो समय राजनीतिमा पद र शक्तिप्रतिको बढ्दो आकर्षण चिन्ताको विषय बनेको उल्लेख गरे।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीति मूलतः नागरिकको सेवा गर्ने सबैभन्दा ठूलो सार्वजनिक दायित्व भएको बताए। शक्ति र सत्तालाई जनहितका लागि प्रयोग गर्नुपर्नेमा सत्ता प्राप्तिलाई नै अन्तिम लक्ष्य बनाउने प्रवृत्ति बढ्नु दुःखद् भएको उनको भनाइ थियो।
थापाले नेपाली कांग्रेसको स्थापना सत्ता प्राप्तिको उद्देश्यले नभई नागरिकको अधिकार, सेवा र लोकतान्त्रिक मूल्यको संरक्षण गर्ने भावनाका साथ भएको स्मरण गराए। संस्थापक नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सेवाका लागि पार्टी निर्माण गरेको उल्लेख गर्दै उनले अहिले पनि त्यही आदर्शलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले बदलिँदो राजनीतिक र सामाजिक परिवेशसँगै पार्टीले नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै संगठन सुदृढीकरणसँगै नीतिगत स्पष्टता र वैचारिक प्रशिक्षणलाई पनि समान प्राथमिकता दिनुपर्ने बताए।
प्रशिक्षण प्रतिष्ठानले पछिल्लो समय पार्टीको मूल विचार, नीति र संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिरहेको भन्दै थापाले त्यसप्रति सन्तोष व्यक्त गरे। नियमित संगठनात्मक गतिविधिसँगै नीति निर्माण, अध्ययन–अनुसन्धान र प्रशिक्षणलाई समानान्तर रूपमा अघि बढाउनु पार्टीका लागि सकारात्मक अभ्यास भएको उनको भनाइ थियो।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया