काठमाडौं । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये सबैभन्दा बढी २५ देखि ४० वर्ष उमेर समूहका चालक संलग्न रहेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आर्थिक वर्षमा उपत्यकाबाहेक प्रदेशमा भएका १,९२४ दुर्घटनामध्ये करिब ५४ प्रतिशत दुर्घटना यही उमेर समूहका चालकका कारण भएका हुन्।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार १६–२५ वर्ष उमेर समूहका चालकबाट ६७९ दुर्घटना भएका छन् भने ४० वर्षभन्दा माथिका चालक पनि उल्लेख्य संख्यामा दुर्घटनामा संलग्न छन्। दुर्घटनाको प्रमुख कारणमा तीव्र गति, चालकको लापरबाही, यात्रुको गल्ती, मादक पदार्थ सेवन, यान्त्रिक खराबी, सडकको अवस्था, ओभरटेक, खराब मौसम तथा ओभरलोड रहेका छन्। दुर्घटनामा मृत्यु हुने र घाइते हुनेमध्ये पनि २५ वर्षभन्दा माथिका व्यक्तिको संख्या सबैभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया