काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महर र रञ्जित कर्णले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्। पार्टीभित्र बढ्दो मतभेद, अविश्वास र गुटगत विवादले संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै अभियानले साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने घोषणा गरेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिअनुसार, साउन २० गते बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
अभियानले नेपाली कांग्रेसको एकता लोकतन्त्रको सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेको छ। विज्ञप्तिमा कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शक्तिहरू कमजोर हुने र प्रतिगामी शक्तिहरू हाबी हुने अवस्था सिर्जना हुने ऐतिहासिक अनुभव स्मरण गराउँदै पार्टी एकतालाई राष्ट्रिय आवश्यकता भएको दाबी गरिएको छ।
अभियानले मुलुकको समसामयिक अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेसका विभिन्न जिल्लामा फैलिँदासमेत सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै आर्थिक मन्दी, बढ्दो बेरोजगारी, युवाको विदेश पलायन र सुशासन संकटजस्ता चुनौतीका बेला प्रमुख प्रतिपक्षी दल आफ्नै आन्तरिक विवादमा अल्झिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ।
नेता महर र कर्णले यो अभियान कुनै व्यक्ति, गुट वा पद प्राप्तिका लागि नभएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार अभियानको उद्देश्य पार्टीभित्र संस्थागत एकता कायम गर्नु, जनतासँगको सम्बन्ध पुनर्जीवित गर्नु र कांग्रेसको भावी कार्यदिशाबारे साझा प्रतिबद्धता सार्वजनिक गर्नु हो।
आयोजकहरूले साउन २० गतेको राष्ट्रिय एकता भेलामार्फत पार्टीका सबै तह, वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दै संगठनलाई थप एकताबद्ध बनाउने लक्ष्य लिएको बताएका छन्। साथै कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नागरिकलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
विज्ञप्तिको अन्त्यमा ‘कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ’ भन्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय एकताको अभियानलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया