काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र दीर्घकालीन स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।

शनिबार शाही युवा शक्ति, नेपालद्वारा आयोजित ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ अन्तर्गतको सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक दर्शनबाट बुझेको बताइन्।

उनले बीपी कोइरालाले समय, परिस्थिति, नेपालको भूगोल र राष्ट्रिय आवश्यकताको गहिरो अध्ययनपछि संवैधानिक राजसंस्था मुलुकका लागि अपरिहार्य निष्कर्षमा पुगेको उल्लेख गरिन्।

‘संवैधानिक राजसंस्थाको आवश्यकता मैले बीपीबाटै सिकेकी हुँ। प्रारम्भिक चरणमा उहाँका विचार समाजवाद र कम्युनिज्मतर्फ झुकेका थिए। तर देशको यथार्थ र भविष्यको मूल्याङ्कनपछि उहाँले नेपालका लागि राजसंस्था आवश्यक रहेको निष्कर्ष निकाल्नुभएको थियो,’ उनले भनिन्।

कोइरालाले बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतान्त्रिक व्यवस्थाका परिपूरक आधारका रूपमा व्याख्या गरेको उल्लेख गरिन्।

‘बीपीले “राजा र मेरो घाँटी एउटै मियाँमा छ” भन्नुभएको थियो। उहाँका अनुसार राजसंस्था लोकतन्त्रको प्रतीक हो। त्यो विचार त्यतिबेला पनि सान्दर्भिक थियो, आजको अवस्थामा झन् बढी अर्थपूर्ण बनेको छ,’ उनले भनिन्।

उनले गणतन्त्र स्थापना र बहुदलीय व्यवस्थापछि पनि नेपाली जनताले अपेक्षा गरेको समृद्ध, स्थिर र सशक्त राष्ट्र निर्माणको सपना अझै पूरा हुन नसकेको टिप्पणी गरिन्।

‘हामीले राष्ट्रिय पहिचान र मौलिकतालाई पछाडि पारेर विदेशी अवधारणाको अनुकरण गर्न खोज्यौं। त्यसबाट देशले अपेक्षित उपलब्धि हासिल गर्न सकेन,’ उनको भनाइ थियो।

कोइरालाले नेपालको एकीकरणसँग जोडिएको ऐतिहासिक संस्था कमजोर बन्दा राष्ट्रियता पनि कमजोर हुने दाबी गरिन्।

‘जुन संस्थाले यो देशको निर्माण गर्‍यो, त्यसलाई किनारामा पार्दा राष्ट्रियताको आधार नै कमजोर बन्छ। नेपालको जस्तो संवेदनशील भू–राजनीतिक अवस्थाका लागि यो चिन्ताजनक विषय हो। देश सधैं स्वतन्त्र, सार्वभौम र सुरक्षित रहोस् भन्ने हो भने संवैधानिक राजसंस्था आवश्यक छ,’ उनले भनिन्।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com