म्याग्दी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार सार्वजनिक शोक तथा शोक बिदा घोषणा गरेको छ।
अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका विश्वकीर्तिमानी आरोही पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएपछि गाउँपालिकाले यो निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष भरतकुमार पुनद्वारा आइतबार जारी गरिएको सूचनामा पुर्जाको असामयिक निधनले गाउँपालिकावासी मात्र होइन, सम्पूर्ण म्याग्दी जिल्ला नै स्तब्ध र मर्माहत बनेको उल्लेख गरिएको छ।
गाउँपालिकाले श्रद्धाञ्जलीस्वरूप सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
सूचनामा निर्मल पुर्जाले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउनुका साथै नेपाली पर्वतारोहीको पहिचान, साहस, नेतृत्व र समर्पणलाई विश्वभर स्थापित गर्न खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरिएको छ।
गाउँपालिकाले उनको योगदान नेपाली पर्वतारोहण इतिहासमा सधैं प्रेरणाको स्रोतका रूपमा रहने विश्वास व्यक्त गर्दै पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायले एक असाधारण व्यक्तित्व गुमाएको जनाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया