काठमाडाैं । पाकिस्तानको ब्रड पिकमा आएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को शव उद्धार गरिएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले आइतबार पुर्जासहित अन्य तीन आरोहीको शव फेला परेको पुष्टि गरेको हो।
अल्पाइन क्लबका अनुसार पुर्जासँगै चिनियाँ आरोही वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा (किलु) को शव पनि उद्धार टोलीले फेला पारेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत जारी गरेको जानकारीमा उद्धार टोली ब्रड पिकको करिब ५ हजार ७ सय मिटर उचाइसम्म पुगेर पुर्जाको शव फेला पार्न सफल भएको जनाएको छ। ‘उहाँले अत्यन्त माया गरेको हिमालले अन्ततः उहाँलाई हामीबाट सधैँका लागि खोसेको छ,’ क्लबले श्रद्धाञ्जली व्यक्त गर्दै उल्लेख गरेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानका महासचिव एयाज सिग्रीका अनुसार प्रतिकूल मौसमका कारण उद्धार अभियान निकै चुनौतीपूर्ण बने पनि उच्च हिमाली क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानबाट चार जनाको शव संकलन गरिएको हो।
गत बिहीबार आएको शक्तिशाली हिमपहिरोमा ४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको थियो। पुर्जाको आरोहण कम्पनीले शनिबार नै टोलीका सबै सदस्यको मृत्यु भएको पुष्टि गरिसकेको थियो।
यसअघि शुक्रबार एक ओमानी महिला, एक नेपाली पुरुष र एक अमेरिकी महिला आरोहीको शव फेला परेपछि हेलिकप्टरमार्फत स्कार्दु पुर्याइएको थियो। अल्पाइन क्लबका अनुसार उक्त टोलीमा एक चिनियाँ नागरिकसहित अन्य नेपाली आरोहीहरू पनि सहभागी थिए।
विश्व पर्वतारोहण क्षेत्रमा विशिष्ट योगदान दिएका निम्स पुर्जाको असामयिक निधनले नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ। विभिन्न देशका नेता, पर्वतारोही तथा संस्थाहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया