काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवादको विषय राष्ट्रियसभामा उठाइएको छ। राष्ट्रियसभा सदस्य पूजा चौधरीले सीमा क्षेत्रमा भएको पछिल्लो घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेकी छन्।
सोमबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नेपाली भूमिमा निर्माण भइरहेको १३२ मिटर लामो अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काउन खोजेपछि स्थानीय बासिन्दा र एसएसबीबीच तनाव उत्पन्न भएको जानकारी गराइन्।
सुस्ता नेपालको सार्वभौमिकता, राष्ट्रियता र सीमा सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै सांसद चौधरीले भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र प्रभावकारी कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरिन्।
उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नुका साथै उनीहरूको दैनिक जीवन सहज बनाउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरिन्।
सांसद चौधरीले सुस्ता लगायतका सीमा विवादलाई छिमेकी मुलुकसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत नेपालको सार्वभौमिकता र राष्ट्रिय हित सुरक्षित रहने गरी दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया