काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर भक्तपुरले गरेको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ। अदालतले म्याद थपको अनुमति नदिँदै प्रसाईंलाई थुनामा नराख्न आदेश दिएको हो।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग्दै सोमबार अदालतमा उपस्थित गराएको थियो। तर अदालतले प्रहरीको माग स्वीकार नगरी हिरासतमा राख्ने आधार पर्याप्त नदेखिएको भन्दै म्याद थपको अनुमति दिएन।
प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको थियो।
यसैबीच, पक्राउलाई गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उक्त रिटमार्फत पक्राउको वैधानिकतामाथि न्यायिक परीक्षणको माग गरिएको छ।
प्रसाईं पक्राउ प्रकरणसँग सम्बन्धित थप कानुनी प्रक्रिया भने जारी रहेको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया